इटहरी । तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा तमु (गुरुङ) समुदायको महान पर्व माङी पर्व सम्पन्न भएको छ ।
कार्यक्रम परिषदकी जिल्ला अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगीता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिका रूपमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, आदिवासी जनजाति महिला महासंघ कोशी प्रदेश अध्यक्ष माया राई, जिल्ला अध्यक्ष दिलिप गुरुङ तथा नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय पार्षद सदस्य बिरेन गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सुनसरी भरिका तमुश्यो महिलाहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई अझ गरिमामय बनाएको आयोजकले जनाएको छ ।
यस अवसरमा नव–निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई खादामाला तथा सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो। तमु भाषामा ‘म्हा’ अर्थात आमा, ‘ङी’ अर्थात सात र ‘त्ही’ अर्थात पूजा वा पावन अवसर भन्ने अर्थ राख्ने ‘म्हां ङी त्ही’ सात आमाहरूको सृष्टि भएको पवित्र दिनको रूपमा मनाइन्छ । यो पर्व तमु सभ्यता र मातृ–चेतनाको जीवित प्रतीकका रूपमा रहेको जनाउँदै वक्ताहरूले प्रकृति, वंश, भाषा र संस्कृतिलाई आमाको स्वरूप मानी श्रद्धा अर्पण गर्ने दिनको रूपमा यसलाई व्याख्या गरेका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिब्य राज गुरुङले यो पर्व हाम्रो उत्पत्तिको स्मृति, आमाप्रतिको कृतज्ञता र तमु पहिचानको उज्यालो दीप भएको उल्लेख गर्दै देशैभरिका तमु तथा तमुश्यो समुदायलाई भाषा, संस्कृति र मौलिक पहिचान जगेर्नाका लागि एकजुट हुन आग्रह गर्नुभयो। कार्यक्रम सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदान–प्रदान सहित सम्पन्न भएको थियो।


