इटहरी ।२०८२ फागुन १ गतेदेखि ३ गतेसम्म सञ्चालन गरिएको ‘समिट सरस्वती क्याम्प’ भव्यतापूर्वक सम्पन्न भएको छ । बालबालिकाहरूको नेतृत्व विकास तथा व्यावहारिक दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त क्याम्प तीन दिन दुई रात सञ्चालन गरिएको थियो। उद्घाटन समारोह नेपाल स्काउट अन्तर्गत सरस्वती दलका इकाइ प्रमुख लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल स्काउट बराहक्षेत्र नगरपालिकाका स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घिमिरे, प्रहरी नायब निरीक्षक श्रवण कुमार लिम्बू लगायतको विशेष आतिथ्यता रहेको थियो। यसैगरी सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रेवतमणि पौडेल र बद्री कार्की, महेन्द्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ठाकुर प्रसाद पुरी, स्काउटर सुस्मिता निरौला र रबिना बस्नेतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
क्याम्पको संयोजन क्याम्प प्रमुख स्काउटर तथा रोभर लिडर डिल्ली कुमार शर्माले गर्नुभएको थियो। क्याम्प अवधिभर सहभागी बालबालिकाहरूले ग्याजेट निर्माण, नेतृत्व विकास तालिम, सीप अभिवृद्धि तथा व्यवहारिक अभ्यासमा सक्रिय सहभागिता जनाएका थिए । निर्धारित समय सीमा भित्र विभिन्न अभ्यास तथा गतिविधि सम्पन्न गर्दै उनीहरूले अनुशासन, सहकार्य, आत्मविश्वास तथा नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याएको आयोजकले जनाएको छ ।
क्याम्प अन्तर्गत आयोजित क्याम्प फायर कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरन कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्काउटहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
क्याम्प सफलतापूर्वक सम्पन्न गर्न इटहरी युथ ओपन क्र्यु परिवार तथा रोभर स्काउट आदर्श तामाङको विशेष सहयोग रहेको आयोजकले जनाएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।


