भोजपुर | षडानन्द नगरपालिका ले महिलाहरूमा देखिने आङ्ग (पाठेघर) खस्ने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले पाँच जना महिलाको सफल शल्यक्रिया गराएको छ।
“महिलाहरूको आङ्ग खस्ने समस्या मुक्त नगर” बनाउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत यस वर्ष नगरपालिकाका चौध वटै वडाका स्वास्थ्य चौकीहरूमा स्क्रिनिङ अभियान सञ्चालन गरिएको थियो। स्क्रिनिङपछि शल्यक्रिया आवश्यक पर्ने पाँच जना महिला पहिचान भएका थिए।
पहिचान भएका सबै महिलाले शल्यक्रियामार्फत उपचार गराउने निर्णय गरेपछि जिल्ला अस्पताल धनकुटा का चिकित्सकहरूको प्राविधिक सहयोग र भोजपुर जिल्ला अस्पताल को समन्वयमा सफल शल्यक्रिया गरिएको हो।
अस्पताल प्रशासनका अनुसार समयमै परीक्षण र उपचारले आङ्ग खस्ने समस्याबाट हुन सक्ने जटिलता न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनमा पनि सबै वडामा नियमित स्क्रिनिङ तथा सचेतना कार्यक्रमलाई निरन्तरता दिइने नगर उपप्रमुख प्रमिला राईले जानकारी दिनुभयो।
शल्यक्रिया सफल भएपछि उपचार प्राप्त महिलाहरू खुसी देखिएका थिए। ग्रामीण क्षेत्रमा पाठेघर खस्ने समस्या बढी देखिए पनि जनचेतनाको अभावमा धेरै महिलाहरूले समस्या लुकाउने गरेका कारण अवस्था जटिल बन्दै जाने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। यस्तो समस्या लुकाउनु आवश्यक नरहेको र समयमै उपचार सम्भव रहेको सन्देश समुदायमा फैलाउनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्।


