इटहरी । भोजपुरमा निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेना सवार बस दुर्घटनामा परी घाइते भएका सबै सेनाका जवानहरू खतरामुक्त भएका भएका छन्।
दुर्घटनामा परेकामध्ये १७ जनालाई उपचारका लागि काठमाडौं लगिएकोमा उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं लगिएकोहरूमा १५ जना नेपाली सेनाका जवान तथा बसका चालक र सहचालक गरी दुई जना सर्वसाधारण रहेका छन्।
यसअघि गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं र अन्यलाई इटहरीस्थित सैनिक अस्पताल पठाइएको भनिए पनि पछिल्लो अपडेट अनुसार गम्भीर र मध्यम घाइते गरी १७ जनालाई नै काठमाडौंमा उपचार गरिएको पुष्टि भएको हो। बाँकी सामान्य घाइतेहरूको भने जिल्ला अस्पताल भोजपुरमै उपचार भइरहेको छ।
जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षाका लागि बेस स्थापना गर्न जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका वडा नम्बर ३ स्थित सेतीबगर नजिकैको घुम्तीबाट खसेको थियो। नयाँ श्रीनाथ गण भोजपुरबाट हिँडेको उक्त टोलीले भाडाको बस प्रयोग गरेको थियो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
बसमा २४ जना नेपाली सेना र २ जना चालक दलका सदस्य गरी कुल २६ जना सवार थिए। दुर्घटना लगत्तै निर्वाचन सुरक्षामा रिक्तता हुन नदिन तत्कालै व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वय र एकीकृत सुरक्षा योजना अन्तर्गत दुर्घटना स्थल वा तोकिएको कार्यक्षेत्रमा अन्य सुरक्षाकर्मीहरू खटाइसकिएको छ।


