इ्रटहरी । झापाको बाह्रदशी गाउँपालिका–१, बोक्राझारीमा बिहीबार बिहान जङ्गली हात्तीको आक्रमणबाट परेर एक महिला गम्भीर घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ५ः३० बजेतिरको समयमा स्थानीय लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशीलाई घरमा नै हात्तीले आक्रमण गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बनाउँदै गरेको पक्की घरमा बिहान उठेर पानी हाल्ने क्रममा एक्कासि हात्तीले आक्रमणमा गरेको प्रारम्भिक रूपमा जानकारी प्राप्त भएको छ ।
उहाँका अनुसार नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट उक्त हात्ती आएको हो । हात्तीको आक्रमणमा राजवंशीको शरीरका विभिन्न भागमा चोट लागेको छ । परिवारका सदस्यहरू र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड उपचारका लागि ल्याएको र हाल उपचार भइरहेको खड्काले बताउनुभयो । यस क्षेत्र आसपास पछिल्लो समय जङ्गली हात्तीको आवतजावत बढ्दै गएको स्थानीयहरूले बताएका छन् ।


