इटहरी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न सप्तरी हिँडेका अध्यक्ष लिङ्देनले सुनसरीको वराहक्षेत्रमा संक्षिप्त भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । भोट दिने बेलामा बाटो, पुल बन्छ कि बन्दैन भन्ने कुराभन्दा पनि विषम परिस्थितिमा हुन लागेको चुनावमा देश रहन्छ कि रहँदैन भन्ने विचार गरेर भोट खसाल्न मतदाताहरू लाई सुझाउनुभएको छ ।
भोट दिने कार्य छोरी दिँदा कुटुम्व बुझेर दिएजत्ति नै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । सुनसरीको क्षेत्र नम्बर ४ स्थित चक्रघट्टीमा आयोजित चुनावीकोण सभामा बोल्दै उहाँले चुनावको मुखमा जनतालाई रिझाउन धेरै उम्मेदवारहरू जनताको घरदैलोमा नमस्कार गर्दै आउने प्रवृत्तिलाई बुझेर सजग भई भोटको शक्तिको उपयोग गर्न सुझाउनुभएको थियो ।


