इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत दुहबी–८ का ५० जना भन्दा बढी जेनजी युवा नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ सुनसरी– ३ का निरज चौधरीको नेतृत्वमा सन्तोष तामाङ, रोशन कटुवाल लगायतका युवाहरूले पार्टी परित्याग गरी एमाले रोजेका हुन्। उनीहरूलाई नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीले खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै निरज चौधरीले युवाको आकांक्षा र विकासको दृष्टिकोण मिल्ने भएकाले एमाले प्रवेश गरेको बताउँदै आगामी निर्वाचनमा भगवती चौधरीलाई विजयी बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।सो अवसरमा उम्मेदवार भगवती चौधरीले युवाको हित र सुझावलाई प्राथमिकतामा राख्नै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले सुनसरी क्षेत्र न ३ को घरघरमा पुगेर प्रत्यक्षसंवाद गरिरहेको बताउँदै विकास, रोजगारी र समृद्धिको एजेन्डा लिएर अघि बढेको उल्लेख गर्नुभयो। यसै क्रममा गढी, बर्जु, दुहबी र इटहरी लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा नेकपा एमाले सुनसरी, युवा संघ, महिला संघ तथा विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यकर्ताहरूले उम्मेदवार चौधरीको अभियानलाई सफल बनाउन संगठित रूपमा सक्रियता देखाइरहेका छन्।