सुनसरी । उज्यालो नेपाल पार्टी क्षेत्र नम्बर २, सुनसरीले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपाल तामाङको प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “सुशासन, समृद्धि र सामाजिक न्याय” लाई मूल नाराका रूपमा अघि सार्दै तामाङले राजनीतिक, प्रशासनिक, आर्थिक तथा सामाजिक क्षेत्रका व्यापक सुधारका एजेण्डा सार्वजनिक गरेका हुन्।
प्रतिबद्धता–पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था, प्रधानमन्त्रीले राम्रो काम नगरे फिर्ता बोलाउन मिल्ने प्रावधान, सांसद तथा मन्त्रीको शैक्षिक योग्यताको स्पष्ट मापदण्ड तय गर्ने जस्ता संवैधानिक सुधारका विषय समेटिएका छन्। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने, संवैधानिक निकायमा योग्यताका आधारमा नियुक्ति गर्ने र भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने उल्लेख छ।
सुशासन तथा निर्वाचन सुधारतर्फ नागरिकले समयमै सेवा पाउने व्यवस्था, प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य संख्या घटाउने प्रस्ताव, मन्त्रिपरिषद् सानो बनाउने, प्रदेश मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने र स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने एजेण्डा अघि सारिएको छ। वैदेशिक रोजगारीमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
पर्यटन तथा सांस्कृतिक विकासअन्तर्गत रामधुनी मन्दिरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने, तरतल्लो क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्ने, थारु संस्कृतिको संरक्षणका लागि संग्रहालय निर्माण गर्ने तथा प्रत्येक वडामा सार्वजनिक सिकाइ केन्द्र स्थापना गर्ने योजना समेटिएको छ। भौतिक पूर्वाधारतर्फ इटहरी–देवानगञ्ज सडक कालोपत्रे, इनरुवा–कोशी गाउँपालिका सडक निर्माण तीव्र पार्ने, डुबान र बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना लागू गर्ने तथा आवश्यक स्थानमा पक्की पुल निर्माण गर्ने उल्लेख गरिएको छ।
स्वास्थ्य तथा शिक्षामा इटहरी अस्पताललाई स्तरोन्नति गर्ने, रामधुनी र देवानगञ्जमा आधुनिक अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने, निःशुल्क विश्वविद्यालय शिक्षा र सामुदायिक विद्यालय सुदृढीकरण गर्ने प्रतिबद्धता जनाइएको छ। साथै प्रत्येक विद्यार्थीका नाममा बचत खाता खोल्ने कार्यक्रम पनि अघि सारिएको छ।
कृषि तथा किसानतर्फ मल, बीउ, सिँचाइ र बीमा अनुदान डिजिटल प्रणालीबाट उपलब्ध गराउने, कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, ५० प्रतिशत क्षेत्र जैविक कृषि क्षेत्र घोषणा गर्ने तथा कृषि सहकारी स्टार्टअप फण्ड स्थापना गर्ने योजना प्रस्तुत गरिएको छ। रोजगारी तथा युवातर्फ “हरेक घरमा रोजगारी” अभियान, युवा रोजगार मेला, स्टार्टअप कोष, डिजिटल तथा आईटी सीप तालिम, प्रत्येक पालिकामा स्वरोजगार सीप विकास केन्द्र स्थापना गर्ने कार्यक्रम उल्लेख गरिएको छ।
सामाजिक सुरक्षामा परिवार संरक्षण प्याकेज, भूमिहीनलाई आवास निर्माण, ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ। खेलकुदतर्फ प्रत्येक पालिकामा रंगशाला तथा कभर्डहल निर्माण, खेलकुद प्रशिक्षण केन्द्र स्थापना र खेलाडी उत्पादनमा जोड दिइने बताइएको छ। भ्रष्टाचार तथा अपराध नियन्त्रणमा भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, भ्रष्ट सम्पत्ति राष्ट्रियकरण, उजुरीदातालाई पुरस्कार कोष स्थापना र पीडितलाई न्याय दिलाउने स्पष्ट योजना अघि सारिएको छ। उम्मेदवार तामाङले आफू निर्वाचित भए जनताको सेवा, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै सार्वजनिक प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन्।


