इटहरी । सुनसरीको भोक्राहा नरसिह गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ ।

कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो।  सो क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो ।

कांग्रेसको भ्रातृ सङ्गठन तरुण दल र रास्वपाका कार्यकर्ताहरूबीच झडप उग्र बन्न लागेपछि सुरक्षामा खटिएको प्रहरीले बल प्रयोग गरेको हो। सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेवेका अनुसार दुई पक्षबीचको विवादले असामान्य रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर परिस्थिति शान्त पारेको थियो।

एसपी थेवेले झडपमा संलग्न व्यक्तिहरू छिमेकी नै रहेको तर राजनीतिक आस्था फरक भएका कारण विवाद उत्पन्न भएको जानकारी दिनुभयो । प्रहरीको हस्तक्षेपपछि अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको र निर्वाचन सुरक्षा व्यवस्थालाई थप कडा पारिएको प्रहरीले जनाएको छ।