सुनसरी । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव कोइरालाले आफ्नो प्रतिबद्धतासहित मतदातासामु प्रस्तुत भएका छन्।

सुनसरी क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका कोइरालाले “बदलियो कांग्रेस, बदलौँ देश” भन्ने नारासहित आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। प्रचार सामग्रीमार्फत उनले स्वच्छ छवि, विकासप्रेमी नेतृत्व र स्थिर राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

उनको प्रतिबद्धतामा प्रत्येक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने, युवालाई स्वदेशमै रोजगारी र नविन सोचमा प्रोत्साहन गर्ने तथा विदेशिएका नेपालीको ज्ञान, सीप र पुँजीलाई मातृभूमिसँग जोड्ने उल्लेख छ। साथै लगानीमैत्री वातावरण निर्माण, साना–ठूला व्यवसायलाई सहयोग, किसानलाई बाध्यता होइन सम्मानित आय आर्जनको अवसर सिर्जना गर्ने योजना अघि सारिएको छ।

स्वास्थ्यतर्फ गर्भावस्थादेखि वृद्धावस्थासम्म स्वास्थ्य सुरक्षाको व्यवस्था, शिक्षातर्फ प्राविधिक र व्यावसायिक शिक्षामा जोड, निःशुल्क ऐनको प्रभावकारी कार्यान्वयन तथा सरकारी सेवामा ‘डिजिटल नेपाल’, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यसैगरी राज्यका संस्थामा दलियकरण अन्त्य, राष्ट्रिय हित र सार्वभौमिक समानतामा आधारित परराष्ट्र नीति, छिमेकी तथा मित्रराष्ट्रसँग आपसी सम्मान र आर्थिक साझेदारी विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। कोइरालाले मतदातालाई रुख चिन्हमा मतदान गरी अत्यधिक बहुमतसहित विजय गराउन अपिल गरेका छन्।