इटहरी । मोरङ रंगेलीमा रहेको कृषि फार्ममा सोमबार बिहान आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ ।

रंगेली नगरपालिका–२ मंगलबारेमा टिकुमाया अधिकारीको नाममा दर्ता रहेर जीवन अधिकारीले सञ्चालन गर्दै आएको फार्ममा बिहान ५ः४५ बजेतिर आगलागी सुरु भएको थियो । टिनको छानो र बाँसको टाटीबेरा भएको भुइँ तले फार्ममा लागेको आगो नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ ।

दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् । आगोले फार्मसहित त्यहाँभित्र रहेको धान, कोदो, मकै, गहुँ, काठपात, युरिया र डीएपी मल ध्वस्त भएको छ । प्रहरीका अनुसार घटनामा ११ लाख बराबरको क्षति भएको छ । आगलागीको कारण प्रष्ट हुन सकिरहेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।