इटहरी। मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा। २ ख। ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको हो ।
दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर र कटारी नगरपालिका–२ की ६० वर्षीया सोममाया परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं। ५ गण त्रियुगाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन भण्डारीको कमान्डमा १३ जना र अस्थायी प्रहरी पोस्ट सङ्गमचोकबाट प्रहरी सहायक निरीक्षक तिलक पौडेलको नेतृत्वमा ६ जनाको संयुक्त टोली उद्धारमा खटिएको थियो । दुर्घटनाग्रस्त बस घटनास्थलमै छ भने चालक कटारी नगरपालिका–४ बस्ने ४५ वर्षीय विक्रम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


