इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यकालागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार लाल बिक्रम थापाले बाचा–पत्र सार्वजनिक गरेका छन् । पार्टीले यस निर्वाचनलाई नागरिकको गुमेको विश्वास फिर्ता ल्याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन र सुशासनलाई केन्द्रमा राखेको जनाएको छ।
कार्यक्रममा कार्यवाहक सभापति तथा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन) को उपस्थिति रहेको थियो। उहाँले जनअपेक्षा अनुसार इमानदार र पारदर्शी राजनीतिक अभ्यास आवश्यक रहेको बताउँदै नयाँ राजनीतिक संस्कार निर्माणमा जोड दिनुभयो।
रास्वपा कोशी प्रदेश कोषाध्यक्ष चन्द्र राईले आर्थिक पारदर्शिता, उत्तरदायित्व र संगठन सुदृढीकरणमार्फत जनविश्वास जित्ने अभियानमा पार्टी प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार लाल बिक्रम थापा ले कृषि आधुनिकीकरणलाई समृद्धिको आधारका रूपमा अघि सार्नुभएको छ। माटो परीक्षणको प्रभावकारी व्यवस्था, उन्नत बीउ–बिजन र मलको उपलब्धता, आधुनिक उपकरणको प्रयोग तथा किसानलाई उचित मूल्य सुनिश्चित गर्न इटहरी, झुम्का, इनरुवा र देवानगञ्जमा कृषि उपज बिक्री केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।
देवानगञ्ज–हरिनगर क्षेत्रमा आधुनिक भण्डारण केन्द्र निर्माण र प्रत्येक स्थानीय तहमा कृषि ल्याब स्थापना गर्ने पहलसमेत बाचा–पत्रमा समेटिएको छ।
सिँचाइ सुधारतर्फ सुनसरी–मोरङ सिँचाइ योजनाअन्तर्गत नहरहरूको पुनःअध्ययन गरी नियमित पानी प्रवाह सुनिश्चित गर्ने उल्लेख छ। तरहरा कृषि अनुसन्धान निर्देशनालय र झुम्का बिउ–बिजन प्रयोगशालाको स्तरोन्नतिबाट प्रविधिमैत्री कृषि विकासमा जोड दिइने जनाइएको छ।
स्वास्थ्य सेवातर्फ देवानगञ्जमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालन, सबै स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार तथा इनरुवा जिल्ला अस्पताललाई सिटी स्क्यान र आईसियु सहितको विशिष्टिकृत केन्द्रमा विकास गर्ने योजना अघि सारिएको छ।
पूर्वाधार विकास अन्तर्गत इनरुवा–कौवाखोज सडक चार वर्षभित्र सम्पन्न गर्ने, दुहबीदेखि इनरुवा शान्तीचोकसम्म चारलेन सडक निर्माणका लागि पहल गर्ने, इटहरीमा रिङ रोड निर्माण र स्थानीय सडक स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बाढी तथा डुबान न्यूनीकरणका लागि तटबन्ध निर्माण, फोहोर प्रशोधन केन्द्र स्थापना र स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
पर्यटन प्रवर्द्धनतर्फ रामधुनी मन्दिर लाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरी रामायण सर्किटमा समावेश गर्ने योजना छ। साथै रास ताल, शङ्करबेली ताल, प्रेम ताल, बबिया पोखरी र कमल पोखरीलाई आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरिएको छ। वनजङ्गल र वन्यजन्तुको संरक्षण गर्दै खुला चिडियाखाना अवधारणामार्फत पर्यटन र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
सुशासनतर्फ सबै सरकारी सेवाहरूलाई छरितो, पारदर्शी र जनउत्तरदायी बनाइने, प्रत्येक तीन महिनामा नागरिक संवाद र वार्षिक सार्वजनिक सुनुवाइ गरिने प्रतिबद्धता जनाइएको छ। भूमिहीन परिवारलाई सुरक्षित आवास, महिला हिंसा नियन्त्रण, अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण र ‘सक्षम छोरी’ कार्यक्रममार्फत समावेशी समाज निर्माणमा जोड दिइएको छ।
रास्वपाले सुनसरी–२ लाई समृद्ध, सुरक्षित र अवसरमूलक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित निर्वाचनमा जाने स्पष्ट पारेको छ।


