विराटनगर । नेपाल विद्यार्थी संघले कोशी प्रदेश अध्यक्षको जिम्मेवारी दुर्गा शेर्पालाई प्रदान गरेको छ। संघको केन्द्रीय कार्यालय, काठमाडौंबाट जारी पत्रमार्फत शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो।

संघको विधान २०७७ (सातौं संशोधन २०७९) बमोजिम गठित प्रदेश समितिको संरचना अनुसार शेर्पालाई कोशी प्रदेश अध्यक्ष पदको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। संघलाई विधि, विधान र मर्यादाभित्र रही थप गतिशील र सशक्त बनाउने विश्वासका साथ नेतृत्वको जिम्मा सुम्पिएको जनाइएको छ।

केन्द्रीय कार्यसमितिले शेर्पाको मनोबल र नेतृत्व क्षमताले संगठनलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरेको उल्लेख गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।

पत्रको बोधार्थ नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा तथा नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिलाई दिइएको छ।

नवनियुक्त अध्यक्ष शेर्पाले संगठन सुदृढीकरण, विद्यार्थी हक–हितको संरक्षण र कोशी प्रदेशभर संगठन विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिक्रिया दिएका छन्।