सुनसरी । प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र पौडेल ले आफू विजयी हुने दाबी गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले देशमा राजनीतिक अस्थिरताकै कारण सामाजिक, आर्थिक, भौतिक तथा राजनीतिक क्षेत्र कमजोर भएको बताएका छन्।
सुनसरी–२ मा उनको चुनाव चिन्ह ‘ह्विलचेयर’ रहेको छ। फरक क्षमता भएका व्यक्ति स्वयं पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, शिक्षा र अवसर सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। उनले छात्रावास सुविधासहित अपाङ्ग विद्यालय स्थापना गरी त्यसलाई क्रमशः विश्वविद्यालयसम्म विस्तार गर्ने अवधारणा अघि सारेका छन्।
पौडेलले सुनसरीमा ३५ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको दाबी गर्दै ती व्यक्तिका अभिभावकले आफ्ना छोराछोरीको भविष्य सम्झेर मतदान गर्ने हो भने आफ्नो जित निश्चित हुने बताएका छन्। “अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा र अधिकार सुनिश्चित गर्न म प्रतिबद्ध छु। अभिभावकहरूले आफ्ना सन्तानको भविष्यका लागि मतदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” उनले भने।
आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उनले सानै उमेरमा सडक दुर्घटनाका कारण खुट्टा गुमाउनुपरेको उल्लेख गरे। सडक सुरक्षाको अभावले आफूले ठूलो पीडा भोग्नुपरेको भन्दै अब कसैले पनि ज्यान गुमाउन वा अङ्गभङ्ग हुन नपरोस् भन्ने उद्देश्यले सडक सुरक्षा सम्बन्धी विशेष योजना ल्याउने प्रतिबद्धता जनाए।
देशमा सुशासन कायम गर्न सबै जाति, धर्म, लिङ्ग तथा समुदायबीच एकता आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्व र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताए।


