इटहरी । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले भोजपुर जिल्लाको अरुण गाउँपालिकास्थित म(याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ ।
यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् । धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको बताउनुभयो ।
हिन्दू धर्मावलम्बीका लागि आकर्षक शैलीमा मन्दिर, किरात समुदायका लागि सांस्कृतिक पहिचान झल्कने मानखिम घर तथा बौद्ध धर्मावलम्बीका लागि शान्तिको प्रतीक स्तूपा निर्माण गर्नुका साथै धार्मिक ज्ञान आदान–प्रदानलाई संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । हाल उक्त पाठशालामा ७२ जना प्रशिक्षार्थी अध्ययनरत छन् । उनीहरूले तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् ।
विसं २०७७ देखि सुरु गरिएको निर्माण कार्यमा हालसम्म सङ्घीय र प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तह तथा विभिन्न सङ्घ–संस्थाको सहयोगमा करिब रु आठ करोड बराबरको लगानी प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । चरणबद्ध रूपमा संरचना विस्तार गर्ने योजनाअनुसार हाल भारतीय दूतावासको करिब रु चार करोड र गाउँपालिकाको रु एक करोड लागत साझेदारीमा विद्यालय भवन निर्माण भइरहेको छ ।
समाजसेवी डा लोचन कार्कीले यस क्षेत्रलाई धार्मिक तथा ‘दिव्यभूमि’का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो परिवारले करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताउनुभयो । बौद्ध धर्मका जानकार (लोचावा) पुण्यप्रसाद सुवेदीले आफ्नै पहल तथा विभिन्न दाताको सहयोगमा बौद्ध स्तूपा निर्माण गरिदिएको बताउनुभयो ।
हाल काठमाडौँमा बसोबास गर्दै आए पनि जन्मभूमिप्रति गहिरो माया राख्दै स्तूपा निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो । सुवेदीले धार्मिक संरचनाले स्थानीय युवापुस्तालाई आफ्नो मौलिक पहिचान र आध्यात्मिक मूल्यमान्यतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । धर्मगुरु प्राडा गुरुप्रसाद सुवेदीले यस क्षेत्रलाई भविष्यमा धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभयो ।
यहाँ धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद, खोज, अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । प्रतिष्ठानले आगामी दिनमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय तथा ध्यान–आश्रमसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले धार्मिक आस्था मात्र नभएर स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पु(याउने अपेक्षा गरिएको छ ।
स्थानीयवासीका अनुसार त्रि–धार्मिकस्थलको निर्माणले अरुण क्षेत्रलाई नयाँ पहिचान दिएको छ । यो स्थान विविधतामा एकता र धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यसलाई आगामी दिनमा राष्ट्रियस्तरमै नमूना परियोजनाका रूपमा चिनिने विश्वास गरिएको छ ।


