इटहरी । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
कारागार प्रशासनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति ज्यान गएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति करिब १० बजेतिर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार राति पौने ११ बजेतिर उनको मृत्यु भएको जानकारी कारागार प्रशासनले दिएको छ । ढुंगेलका अनुसार स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यसअघिदेखि नै नियमित औषधि सेवन गरिरहेका थिए ।
तर, पछिल्लो पटक अचानक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि तुरुन्त अस्पताल पुर्याइएको थियो । तामाङ लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका कैदी थिए । उनलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार चलान गरिएका उनी २०८३ साल माघ २७ गते सजाय अवधि पूरा गरी रिहा हुने थिए । तर, सजाय अवधि पूरा नहुँदै उनको मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि तामाङलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको थियो । बिहीबार बिहानै रेफर गर्ने योजना बनाइए पनि त्यसअघि नै उपचारकै क्रममा मृत्यु भएको ढुंगेलले बताए । मृत्युको जानकारी प्राप्त हुनासाथ परिवारका सदस्य तथा आफन्त कारागारको सम्पर्कमा आएका छन् ।
मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ७५ जना कैदीबन्दी छन् । तीमध्ये १ सय २ जना महिला कैदी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण स्वास्थ्य सेवा र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताइएको छ ।


