इटहरी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ–१ मा सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ कडा पारिएको छ।

क्षेत्रका सबै मतदानस्थललाई संवेदनशील सूचीमा राखेर बहुस्तरीय सुरक्षा रणनीति लागू गरिएको सुरक्षा निकायले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेतको समन्वयमा सुरक्षा परिचालन तीव्र बनाइएको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन केन्द्र–केन्द्रमा सुरक्षा घेराबन्दी गरिएको छ। मोरङ–१ मा कुल १ लाख २८ हजार मतदाता रहेका छन्, जसमा लेटाङ नगर क्षेत्रमा करिब २८ हजार मतदाता छन्।

लेटाङ नगरपालिकाभित्र १४ वटा मतदान स्थलअन्तर्गत ३५ वटा मतदान केन्द्र रहेका छन्। ती सबै मतदान स्थल तथा केन्द्रलाई संवेदनशीलका रूपमा वर्गीकरण गरी थप सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रमुख दलका उम्मेदवारमा नेपाली कांग्रेसबाट खड्ग फागो, नेकपा एमालेबाट घनश्याम खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट यज्ञमणि न्यौपाने, नेकपाबाट डिल्लीराम न्यौपाने तथा उज्यालो नेपाल पार्टीबाट शान्ति पाख्रिन चुनावी मैदानमा छन्।

लेटाङ नगर क्षेत्रसहित समग्र क्षेत्रमा मतदानस्थल र केन्द्रहरूको व्यवस्थापन अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा आवश्यक भौतिक पूर्वाधार, कर्मचारी परिचालन र सुरक्षा व्यवस्थापन सुनिश्चित गरिएको छ।निर्वाचन अवधिभर रणनीतिक स्थानहरूमा अस्थायी सुरक्षा क्याम्प स्थापना, नियमित गस्ती, पेट्रोलिङ तथा सिभिल पोसाकमा निगरानीलाई प्राथमिकता दिइएको छ। विशेषगरी विकट तथा पहुँच कठिन क्षेत्रलाई लक्षित गरी छुट्टै सुरक्षा योजना तयार गरिएको छ।

नगर क्षेत्रका सबै मतदानस्थल संवेदनशील रहेकाले सुरक्षा सतर्कता बढाउनुका साथै दल तथा स्वतन्त्र उम्मेदवारहरूसँग प्रहरीले समन्वय गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न प्रशासन सक्रिय देखिएको छ। सबै केन्द्रहरू संवेदनशीलको सूचीमा रहेकाले प्रहरी प्रधान कार्यालयबाटै लेटाङमा प्रहरी नायब उपरीक्षक ९डीएसपी० को नेतृत्वमा अतिरिक्त प्रहरी टोली खटाइसकिएको छ।

नगर क्षेत्रमा अहिले ७० जना नेपाल प्रहरी र १०६ जना निर्वाचन प्रहरी खटाइएको तथा थप आवश्यकता अनुसार परिचालन गरिने जनाइएको छ। भौगोलिक विकटताका कारण केही मतदान केन्द्रहरू बजार क्षेत्रबाट टाढा रहेकाले ती केन्द्रहरूमा समेत सशस्त्र प्रहरीले अस्थायी क्याम्प नै खडा गरेर सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।