इटहरी । नेपाल तरुण दल इटहरी नगर समितिले बैठक सम्पन्न गर्दै ५ सय १ सदस्यीय निर्वाचन प्रचार–प्रसार सुरक्षा समिति गठन गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको उक्त समितिले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने जनाइएको छ । समितिको बैठकमा निर्वाचन स्वतन्त्र र पारदर्शी वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै प्रत्येक मतदाताले आफूले रोजेको चुनाव चिन्हमा निर्धक्क मतदान गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।

नगर सभापति अनुशी सुवेदीले कसैलाई पनि जबर्जस्ती नगरी लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित अभियान अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार पुरानो पार्टी तथा लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसले जेन–जी पुस्ताको भावना समेत समेट्दै अघि बढेकाले ‘रुख’ चिन्हमा मतदान गर्न अनुरोध गरिएको हो।

तरुण दलले अन्य राजनीतिक दलहरूलाई समेत नेपाली कांग्रेसका मतदाता माथि कुनै प्रकारको दबाब वा जोरजबरजस्ती नगर्न आग्रह गरेको छ । साथै, सबै पक्षले लोकतान्त्रिक मर्यादा पालना गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।



