इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरि चूनावमा होमिएको स्पष्ट पार्नुभएको छ ।
शनिबार झापाको बाह्रदशी स्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आए जस्तो कुनै पनि राजनीतिक दलहरुसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पार्नुभएको हो ।
उहाले राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो ब्यबस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दाबी गर्नुभयो । लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताउनुभयो । अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राप्रपा बेग्लै पहिचान बोकेर अगाडि बढेको उल्लेख गर्नुभयो ।
राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा बहुमत दिन आम मतदातालाई अपिल समेत गर्नुभयो। अहिले देशमा दुइखाले अतिवाद हावी भइरहेको अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो रहेको उहाले बताउनुभयो ।
अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।


