इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित होराइजन एकेडेमी इटहरीले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
वडा नम्बर २ बरगाछीमा अवस्थित विद्यालयले लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर सापकोटा (सुरेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी–२ का वडा अध्यक्ष माधव कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुद्र कठिएतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमैत्री शिक्षाको प्रगति विवरण सार्वजनिक गर्नुभयो। साथै, विद्यालयले स्थानीय दुई जना जेष्ठ नागरिक छाँया देवी भण्डारी र अम्बिका देवि चौलागाईंलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्व पनि प्रदर्शन गरेको थियो।
विद्यार्थीहरूले परम्परागत तथा आधुनिक खानाका परिकारहरू, वैज्ञानिक सामग्रीहरू र विभिन्न सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेका थिए। विविध जातजातिका मौलिक भेषभूषामा सजिएका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफ्नो प्रतिभा देखाउँदा अभिभावकहरू हर्षित देखिन्थे। आफ्ना छोराछोरीको आत्मविश्वासपूर्ण प्रस्तुति देख्दा अभिभावकहरूको अनुहारमा सन्तुष्टिको मुस्कान प्रस्ट देखिन्थ्यो।
अध्यक्ष सापकोटाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि अध्ययनसँगै जीवनोपयोगी सीप, घरायसी काम तथा व्यवहारिक शिक्षा दिँदै आएको बताउँदै विद्यालय इटहरीकै अब्बल शैक्षिक संस्थाका रूपमा अघि बढिरहेको दाबी गर्नुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष कोइरालाले विद्यालयले शैक्षिक गुणस्तरसँगै प्रविधिमैत्री शिक्षा विस्तार गरेकोमा प्रशंसा गर्दै वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन शिक्षक कमला सुवेदी र बन्दना सुब्बाले गर्नुभएको थियो। 
कार्यक्रममा इटहरी–२ स्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घिमिरे, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष रुद्र प्रसाद तिम्सिना, प्याब्सन तथा एन–प्याब्सन इटहरीका पदाधिकारीहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


