इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित एप्पल ट्री मन्टेश्वरी स्कूल ले भव्य रूपमा अभिभावक दिवस सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा शिक्षा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुति रहे। बालबालिकाहरूले गायन, नृत्य, नाटक तथा कला प्रदर्शनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका आकर्षक नृत्य प्रस्तुतिले उपस्थित अभिभावकहरूलाई विशेष रूपमा मोहित बनाएको थियो।
विद्यालयकी प्रिन्सिपल चन्द्रकला घिमिरेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नेतृत्व विकास, गुणस्तरीय पढाइ–लेखाइ तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू महत्वपूर्ण रहेको बताइन्। त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक सन्तोष कट्वालले शिक्षासँगै व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राखेर अध्यापन गरिँदै आएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि मल्लले मन्तव्य राख्दै मन्टेश्वरी पद्धतिबाट सञ्चालन भइरहेको यस विद्यालयले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। उनले खेल्दै सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने र व्यवहारिक ज्ञान प्रदान गर्ने शिक्षा प्रणाली आजको आवश्यकता रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षामार्फत इटहरीलाई शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न विद्यालयहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

कार्यक्रममा इटहरीका जनप्रतिनिधि, स्थानीय समाजसेवी, विभिन्न संघ–संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


