इटहरी । इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्ल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिन्सिपल चन्द्रकला घिमिरेको अध्यक्षतामा तथा शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका इकाइ प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहेका थिए ।
विद्यार्थीहरूले मौलिक नेपाली लोकगीत देखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो। विद्यालयकी अध्यक्ष घिमिरेले विद्यालयको शैक्षिक उपलब्धि, आगामी योजना तथा अनुशासन र संस्कारयुक्त शिक्षा प्रति विद्यालयको प्रतिबद्धताबारे जानकारी गराउनुभयो ।
अभिभावकहरूले विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा तथा अतिरिक्त क्रियाकलाप प्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । विद्यालयका प्रबन्ध निर्देशक सन्तोष कट्वालले शिक्षासँगै व्यवहारिक ज्ञानको शिक्षणलाई विद्यालयले विशेष प्राथमिकता दिएको उल्लेख गर्नु भयो ।
प्रमुख अतिथि मल्लले आफ्नो मन्तव्यमा गुणस्तरीय शिक्षा र अभिभावक–विद्यालय सहकार्यको महत्त्वबारे प्रकाश पार्दै विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्नुभयो। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरू, स्थानीय विद्यालयका शिक्षकहरू, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


