इटहरी । चितवनको माडी नगरपालिकास्थित मतदान केन्द्रमा मतदातालाई प्रभावित पार्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चुनाव चिन्ह ‘घण्टी’ मा मत माग्ने एक कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा माडी माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका कार्यालय सहयोगी बुद्धिसागर पौडेल रहेका छन्। मतदानका लागि लाइनमा बसेका सर्वसाधारणलाई उनले ‘घण्टी’ मा भोट हाल्न लगाएको पाइएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पौडेलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न खोजेको पुष्टि गरेका छन्। पौडेलले खुलेआम रास्वपाको पक्षमा प्रचार गरेको सुरक्षाकर्मीले फेला पारेका थिए।
यस्तै, निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अन्य दुई जनालाई पनि चितवन प्रहरीले पक्राउ गरेको छ। मतदान चलिरहँदा भरतपुरको नारायणी नमुना मावि अगाडि चुनाव बहिष्कारको पर्चासहित प्रदर्शन गर्ने नेकपा ९बहुमत० का कार्यकर्ताहरू पक्राउ परेका हुन्।
जिल्लामा मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको र ३३ प्रतिशत मत खसेको प्रशासनले जनाएको छ।


