इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५  बजे सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसंगै मतदान केन्द्रबाट मतपेटिकाहरु सम्बन्धीत क्षेत्रमा रहेका  निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ ।  निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्र अन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।

आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको जनाएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुरु हुनेछ । प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् ।

प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३ सय ६३ पुरुष र एक हजार ७ सय ७२ महिला गरी तीन हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भएको हो ।