इटहरी । नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार उपस्थिति जनाएको छ ।

दशकौंदेखि पुराना दलको किल्ला मानिएका झापा, मोरङ र उदयपुर जिल्लामा रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा क्लिन स्विप गरेको छ। अहिलेसम्म नतिजा आएका झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कूल १३ वटा क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको हो । जनताले यसपटक अनुहार होइन, एजेन्डा र परिवर्तनलाई रोजेका छन् । जसको परिणामस्वरूप पूर्वका यी तीन जिल्लाका सबै सिटमा रास्वपाले शानदार विजय हासिल गरेको छ । सबैभन्दा ठूलो र रोचक उथलपुथल झापा जिल्लामा देखिएको छ ।

झापा(५, जहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटक पटक निर्वाचित हुँदै आएका थिए । यहाँ रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले ऐतिहासिक जित निकालेका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा पूर्वप्रधानमन्त्री समेत रहेका ओली १८ हजार ७३४ मतमा सीमित हुनुपर्‍यो । झापा(३ मा पनि उस्तै नतिजा आएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई रास्वपाका प्रकाश पाठकले पराजित गरेका छन् । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा लिङ्देन १७ हजार २९४ मतमा खुम्चिए । त्यस्तै, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले ६० हजार ११० मतका साथ शानदार जित दर्ता गर्दा पूर्वसभामुख देवराज घिमिरे ११ हजार ३६८ मतमा रोकिन पुगे ।

झापा १ मा रास्वपाकी निशा डाँगीले ४५ हजार ६८० मत ल्याएर कांग्रेसका केशवराज पाण्डेलाई हराइन् ।  झापा ४ मा पनि शम्भु प्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याएर एमालेका एलपी सावालाई पराजित गरे । मोरङ जिल्लाको नतिजा झन् रोचक र अप्रत्यासित देखिएको छ । मोरङका ६ वटै क्षेत्रमा रास्वपाले क्लिन स्विप गर्दै कांग्रेस र एमालेको गढ भत्काएको छ । मोरङ १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ निर्वाचित हुँदा श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा १७ हजार ५२२ मतमा रोकिइन् ।  यहाँ कांग्रेस र एमाले जस्ता यसअघिका ठूला दल तेस्रो र चौथो भए । मोरङ २ मा रास्वपाका कृष्ण कार्की ४० हजार ९२५ मतसहित विजयी भए भने एमालेका दिलीप अग्रवाल १५ हजार ६२४ मतमा सीमित भए । क्षेत्र नम्बर ३ मा पनि रास्वपाको लहरलाई कसैले रोक्न सकेन ।

यहाँ गणेश कार्कीले ३६ हजार ९२४ मत ल्याएर कांग्रेसका नेता डा। सुनिल शर्मालाई पराजित गरे । शर्माले २४ हजार ३५४ मत ल्याए । मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत ल्याएर कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई १२ हजार ८१८ मतमा रोके । मोरङ ५ मा आशा झाले ३० हजार ४३४ मत ल्याएर कांग्रेसका फूलकुमार लालवानीलाई पराजित गरिन् । यहाँ अघिल्लो चुनावका विजेता योगेन्द्र मण्डलले आफैं पार्टी खोलेर निर्वाचनमा होमिए पनि उनी ४ हजार १९९ मतका साथ छैटौं स्थानमा पुगे ।

मोरङ ६ मा कांग्रेसका डा।शेखर कोइराला पराजित भए । यो क्षेत्रबाट रास्वपाकै रुविना आचार्य निर्वाचित भइन् । आचार्यले ५५ हजार ५१३ मतसहित जित हात पार्दा शेखरले १२ हजार ८५० मत प्राप्त गरे । त्यस्तै, एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा कांग्रेसका कोइराला विजयी भएका थिए । 

उदयपुर जिल्लाले पनि रास्वपालाई नै रोजेको छ । उदयपुर क्षेत्र नम्बर १ मा पारशमणि गेलालले ३० हजार ५९० मत प्राप्त गरी जित हासिल गरे । उनले श्रम संस्कृति पार्टीका राजेश कुमार राईलाई भारी मतान्तरले पराजित गरे । राईले ११ हजार ६०६ मत प्राप्त गरे । त्यस्तै, क्षेत्र नम्बर २ मा सूर्य बहादुर तामाङ १४ हजार ८०२ मतका साथ निर्वाचित भए भने एमालेका अम्बर बहादुर रायमाझी ७ हजार ६८४ मतमा रोकिए ।