इटहरी । सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० को यात्रा अब सङ्घीय संसद्तिर मोडिएको छ । 

सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उहाँको राजनीतिक यात्रा राष्ट्रिय राजनीतितिर अगाडि बढेको हो । गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगरप्रमुखमा पहिलो पटक स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभयो । नगरप्रमुखको जिम्मेवारी समालेपछि उहाँले श्रमदानलाई पुनर्जीवित गर्दै विभिन्न जनअभियान सञ्चालन गर्नुभयो । उहाँकै प्रत्यक्ष संलग्नतामा धरान–२० स्थित कोकाहाखोलाबाट खानेपानी ल्याउने ९८ दिनको अभियान सफल भएपछि उहाँप्रति स्थानीयको विश्वास थप बढ्न पुग्यो । 

गत भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्यले नयाँ मोड लिएसँगै राईले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी स्थापना गर्नुभयो । युवाको आन्दोलनले राजनीतिक सुधारको आवश्यकता माग गरेको भन्दै त्यसको प्रतीकका रूपमा आफ्नो पार्टी उदाएको उहाँको भनाइ छ । प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उहाँले धरान नगरप्रमुख पदबाट राजीनामा दिएर सुनसरी–१ बाट उम्मेदवार बन्नुभयो । 

निर्वाचन परिणाम अनुसार उहाँ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ आफू मात्रै विजयी हुनु भएन श्रम संस्कृति पार्टी स्थापना गरेको चार महिनामै प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टी बनाउन सफल हुनुभयो । निर्वाचनमा विजयी भएपछि राईले लोकतन्त्रमा कोही पनि नहार्ने बताउँदै सबै मतदाता र उम्मेदवारप्रति आभार व्यक्त गर्नुभयो । 

राई आफ्ना समर्थकलाई व्यक्तिप्रति नभई विचारप्रति जोडिन आग्रह गर्नुहुन्छ । चुनावअघि नैै दार्चुलामा तुइनको सट्टामा झोलुङ्गे पुल निर्माण गर्ने आफ्नो सामाजिक सञ्जालमार्फत १० रुपियाँदेखिमाथि जति पनि सहयोग गर्न सक्ने सबैलाई आग्रह गर्नुभयो । उहाँ युवामा परिश्रम गर्ने संस्कार बढाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले आफू सिंहदरबारको कुर्सी मात्र नहेरी दार्चुला जस्तो गाउँठाउँ पनि हेर्ने र विकासका लागि संसद्मा आवाज उठाइरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

लाहुरे परिवारमा जन्मनुभएका राईका पिता तिलविव्रmम राई र माता जयमाया राई हुनुहुन्छ । राईले खोटाङको कोपिलासगढी गाउँपालिका खार्ताम्छामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झर्नुभएको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । २०७२ सालमा धरान–१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तारका व्रmममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितसँग मिलेर आन्दोलन सञ्चालन गर्नुभएको थियो । सोही आन्दोलनपछि उहाँ सामाजिक अभियन्ताका रूपमा चिनिन थाल्नुभएको हो ।

श्रमदान अभियान र जनसहभागितामूलक विकासका कार्य नै यस दलको स्थापनाको मुख्य प्रेरणा बनेको छ । पार्टीले जय माटो, जय श्रमदानको नाराका साथ निर्वाचनमा भाग लिएको थियो । यसको अभियान अन्य दलको तुलनामा फरक र श्रमदानमा आधारित रहेको छ । राजनीतिक दल र नेतृत्वप्रति प्रश्न उठाउने उहाँको शैलीका कारण पनि उहाँ चर्चामा रहनुभयो । सार्वजनिक स्थानमै उभिएर उहाँले पटक पटक दलको सिद्धान्त, नेतृत्वको उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै आउनुभएको थियो ।