इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको पर्फेक्ट एकेडेमीले आफ्नो एघारौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुस्मा  गिरीको अध्यक्षता तथा कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएर आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए ।

आफ्ना छोराछोरीको प्रस्तुति हेर्दै अभिभावकहरू निकै उत्साहित र खुसी देखिन्थे। सो अवसरमा  प्रमुख अतिथी गिरी, विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी, खेलकुदतर्फ उत्कृष्ट विद्यार्थी, जेष्ठ नागरिक, अभिभावक तथा अतिथिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल रामकुमार गिरिले पढाइसँगै विद्यालयले योग, ध्यान, प्राणायाम तथा व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको बताउनुभयो ।

साथै आगामी वर्षदेखि विद्यालयलाई सेकेन्डरी तहसम्म विस्तार गर्ने र डे–होस्टेलको व्यवस्था गर्ने योजना रहेको जानकारी दिनुभयो। विद्यालयले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूको समग्र विकासमा ध्यान दिइरहेको उहाँको भनाइ थियो। त्यस्तै, प्रमुख अतिथि प्रहरी निरीक्षक दीपक गिरीले विद्यालयका यस्ता गतिविधिले विद्यार्थीहरूको क्षमता विकासमा टेवा पुग्ने बताउँदै आवश्यक परेमा प्रहरी प्रशासनबाट पनि सहयोग रहने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा जीवन विज्ञान कोशी प्रदेशका संयोजक केदारमान कार्कीले योग र ध्यानको महत्वबारे जानकारी गराउनुभएको थियो। उक्त कार्यक्रममा प्याब्सन इटहरी अध्यक्ष सुर्यमणि निरौला, इटहरी बसपार्क व्यवस्थापन समितिका अध्यक्ष काजी राई, प्रगति टोल विकास संस्था अध्यक्ष कमलराज रेग्मी,अभिभावक तथा समाजसेवी बिरेन लिम्बू, नारायण फुयाल, विभिन्न विद्यालयका प्रतिनिधि, अभिभावक, विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।