इटहरी । सुनसरी स्थित सेतो बंगला एकेडेमीले १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। विद्यार्थीहरूको प्रतिभा खोज, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, अतिथि तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालय परिसरमा आयोजित उक्त समारोहमा करिब ७ सय जना अभिभावक, विद्यार्थी, अतिथि तथा पूर्व विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष खड्ग कुमार बिष्ट (ईश्वर बिष्ट) ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पत्रकार, साहित्यकार तथा समाजसेवी कृष्ण विनोद लम्साल उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी विशिष्ट अतिथिका रूपमा वरिष्ठ कलाकार तथा समाजसेवी विक्रम श्री तथा एडुटेक कलेज इटहरीका प्राचार्य चिरञ्जीवी तिम्सिना सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक गंगा खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयकी प्रिन्सिपल कविता लम्सालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा रहेको प्रतिभाको खोज, पहिचान तथा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्दै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा पनि यस्ता कार्यक्रम महत्वपूर्ण रहने उहाँको भनाइ थियो । समारोहका क्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मनोरञ्जनका साथै सकारात्मक सन्देश दिएका थिए ।
सो अवसरमा शैक्षिक, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। वि.सं. २०६३ सालमा स्थापना भएको सेतो बंगला एकेडेमीले बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षण–सिकाइलाई प्राथमिकता दिँदै आएको प्रिन्सिपल लम्सालले बताउनुभयो ।


