इटहरी । झापाको बिर्तामोडमा सञ्चालन भइरहेका डान्सबारका कारण प्रहरीलाई दैनिक रूपमा निगरानी र नियन्त्रणमा खटिनुपर्ने अवस्था सिर्जना भएको छ।

तोकिएको समयभन्दा बढी सञ्चालन गर्ने डान्सबारका कर्मचारीलाई पक्राउ गरेर छाड्ने क्रम बढेपछि अब भने प्रहरीले कानुनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ। प्रहरीका अनुसार डान्सबार सञ्चालनका लागि राति ११ बजेसम्म मात्र समय तोकिएको भए पनि बिर्तामोडका केही डान्सबारहरू बढी व्यापार गर्ने लोभमा रातभर सञ्चालन गर्ने प्रयास गर्दै आएका छन्। त्यसका कारण प्रहरीलाई नियमित रूपमा अनुगमन गर्दै डान्सबार बन्द गराउँदै हिँड्नुपरेको छ, जुन अवस्था प्रहरीका लागि दैनिक ड्युटीजस्तै बनेको बताइएको छ। गएराति राति १ बजेसम्म डान्सबार सञ्चालन गरेको आरोपमा चार वटा डान्सबारबाट सात जना कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा स्टार डान्सबारका कर्मचारी इलाम सूर्योदय–१० घर भई हाल बिर्तामोड–१० बस्ने ४६ वर्षीय तारा प्रधान, तृष्णा डान्सबारका कर्मचारी कचनकवल–४ बस्ने २६ वर्षीय सुरेश राजवंशी, सोही डान्सबारका २२ वर्षीय सुशन लेप्चा, डीडब्लु डान्सबारका कर्मचारी इलाम माई–७ बस्ने २० वर्षीय सफल राई र सोही डान्सबारका मेचीनगर–१० बस्ने ४८ वर्षीय राजकिशोर साह रहेका छन्। यसैगरी नाइट लाइफ डान्सबारका कर्मचारी बिर्तामोड–४ बस्ने २५ वर्षीय युगल चौधरी र गन्तव्य डान्सबारका कर्मचारी मेचीनगर–८ बस्ने १९ वर्षीय कृतन पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले डान्सबार रातभर सञ्चालन भएको भन्दै स्थानीयबाट अत्यधिक गुनासो आएपछि निगरानी कडा पारिएको बताए। बारम्बार पक्राउ गरेर छाड्ने क्रम चलिरहेकाले अब भने नियम उल्लंघन गर्ने सञ्चालक तथा कर्मचारीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको उनको भनाइ छ। रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा अनुशासन आवश्यक हुने उल्लेख गर्दै उनले नियम पालना गरेर सञ्चालन गरे कसैलाई पनि समस्या नहुने बताए।

हालसम्म चेतावनी दिएर छाड्ने गरिएको भए पनि अब नियम उल्लंघन गर्नेलाई मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। डान्सबारमा देखिएका समस्या र सञ्चालनको विषयमा छलफल गर्न बिर्तामोडका डान्सबार सञ्चालकहरू प्रहरी प्रमुखसँग भेट्ने तयारीमा रहेका छन्। बिर्तामोड क्षेत्रमा हाल आधा दर्जनभन्दा बढी डान्सबार सञ्चालनमा रहेका छन्।