इटहरी । झापाको बिर्तामोडमा बसोबास गर्दै आएको एक गिरी परिवारले २० वर्षदेखि सम्पर्कविहीन रहेका परिवार प्रमुखको कुशको लाश बनाएर दाहसंस्कार गरेपछि काजक्रिया गरिरहेको छ।

भोजपुरको गोबिनचोकमा जन्मेका र हाल बिर्तामोड–५ बुट्टाबारीमा बस्दै आएका दलबहादुर गिरी करिब २० वर्षदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले जनाएको छ। लामो समयसम्म कुनै खबर नआएपछि र उमेरले पनि १०० वर्ष पूरा भएको आधारमा परिवारले धार्मिक परम्पराअनुसार कुशको लाश बनाएर अन्त्येष्टि गर्ने निर्णय गरेको बताइएको छ। परिवारका अनुसार गत फागुन २१ गते कुशको लाश बनाएर कनकाई माई नदीमा दाहसंस्कार गरिएको थियो। त्यसपछि हाल परिवारले काजक्रिया गरिरहेको छ।

हाल ९८ वर्षीया श्रीमती धनलक्ष्मी गिरीसहित छोराबुहारी र छोरीहरू काजक्रियामा सहभागी भएका छन्। दलबहादुर गिरीका जेठा छोरा सुवास गिरी पनि करिब १५ वर्षदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।काजक्रियामा माइला छोरा लक्ष्मण गिरी, साइला छोरा टंक गिरी र कान्छा छोरा दिलबहादुर गिरी, बुहारीहरू कालिमाया, धनमाया र गंगा गिरी तथा छोरीहरू मैया, मनमाया र कल्पना सहभागी छन्।

यसैबीच शुक्रबार नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका सचिव प्रजित पुरीको नेतृत्वमा कोषाध्यक्ष बिदुर गिरी र सदस्य रणबहादुर गिरीसहितको टोलीले गिरी परिवारको निवासमा पुगेर समवेदना व्यक्त गरेको जनाएको छ।