इटहरी | सुनसरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लाल विक्रम थापा जनतासँग भेटघाट कार्यक्रममा सहभागी भएका छन्।

शनिबार संगित साधना टोल विकास संस्थाकको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर १ र २ का टोलवासीहरू भेला भई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद थापालाई खादा, माला र अबिर लगाएर स्वागत तथा सम्मान गरेका थिए।

टोल विकास संस्थाका कानुनी सल्लाहकार राजनकुमार अधिकारीले जनताको अपेक्षा अनुसार काम गर्न सांसद थापालाई आग्रह गर्नुभयो।

नवनिर्वाचित सांसद थापाले आफू जनताको काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै मत दिएर जिताएकोमा उहाँले सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो।

संगित साधना टोल विकास संस्थाका अध्यक्ष विकास भण्डारीले जनताले रास्वपाबाट थापालाई मत दिएर संसदमा पठाएको उल्लेख गर्दै उहाँलाई जनताको काम गर्न आफूहरू साथ दिएर अगाडि बढिरहेको बताउनुभयो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा थापाले सुनसरी–२ बाट ५७ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो।

कार्यक्रममा संगित साधना टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारी, संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदिप कुमार रेग्मी, संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केशी, राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी उपमहानगर नगर समितिका सभापति महेश थापा, स्थानीय जेष्ठ नागरिक हिना बिष्ट लगायत पार्टीका पदाधिकारी तथा स्थानीय टोलवासीहरूको उपस्थिति रहेको थियो।