इटहरी । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९ गहतेस्थित पहलमान श्रेष्ठको घरमा शनिबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। दिउँसो करिब १स्३० बजे घरसँगै जोडिएको पालीबाट सुरु भएको आगोले ढुङ्गा–माटोले बनेको तीनतले घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब ४ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट घरभित्र रहेका सुनचाँदीका गहना, लत्ताकपडा, अन्नपात तथा भाँडाकुँडालगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।