इटहरी । निर्माणधीन भेडेटार(राजारानी(रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको छ ।
निर्माणाधीन सडकमा शुक्रबार देखि माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछी सडक अवरुद्ध भएको बताउँनुभयो । उहाँका अनुसार जेसीविको सहायताले सडक खुलाउने काम भई रहेको छ ।
निर्माणधीन सडकको कटिङको काम भइरहेको र माथिबाट झरेको सुख्खा पहिरोले सडक अवरुद्व भएपछि सो स्थानको करिब एक सय मिटर क्षेत्रमा पहिरो लगातार झरिरहेको जनाइएको साँगुरीगढी गाउँपाकिला अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । सडक खुलाउँन लागि परिरहेको तर, सुख्खा पहिरो झरी रहने भएकाले थप समस्या आएको उहाँले बताउँनुभयो ।
सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र साथै पाँचथर जिल्लाको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ । भेडेटारबाट करिब २।५ किलोमिटर दूरीमा रहेको यस क्षेत्रमा पहिरो हटाउन प्रयास भई रहेतापनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको पाइएको छ ।


