इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ पैरेमा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ पैरेको आयोजनामा फागुन २७ गते देखि सञ्चालन गरिएको प्रतियोगिता हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको हो ।

अध्यक्ष राईले खेलकुदको विकासको लागि गाउँपालिकाले नीतिगत बजेट व्यवस्थापन गर्दै आएको र विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा आवश्यक सहयोग गर्दै आएको बताउनु भयो । हतुवागढी गाउँपालिकाको आर्थिक सहयोग र सहयोगी दाताहरुबाट आर्थिक सहयोग सङ्कलन गरेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जग्गादाता, खेलमैदान निर्माण र आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा धनकुटाको सहिदभुमी र भोजपुरको आमचोक गाउँपालिकाबाट समेत खेलाडीहरुको सहभागिता रहेको थियो । फाइनल खेलमा आमचोक ८ दिङ्लापु भलिबल टिमलाई हराउदै आयोजक टिम विजेता बनेको हो । उपाधि विजेता टिमलाई ६१ हजार र उपविजेता टिमलाई ४१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाल तामाङ घेदुङ पैरेका कोषाध्यक्ष राजकुमार तामाङले जानकारी दिनु भयो

। तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरिदै आएको र खेलाडीहरुको प्रतिभा पहिचान र युवाहरुमा भाइचारा सम्बन्ध स्थापनाको लागि खेलकुद आयोजना गरिएको आयोजकले जनाएको छ ।