इटहरी । ’प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन–३’ का उत्कृष्ट १० कविहरुको निमित्त एक दिने कार्यशाला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ ले सञ्चालन गरिरहेको स्कुलमा कविता कार्यक्रमबाट छ्नोट भएका उत्कृष्ट –१० बाल कविहरुका निमित्त कविता कार्यशाला आयोजना गरिएको हो ।  गत शनिबार सम्पन्न कार्यशालामा सहभागीहरुलाई सहजकर्ताद्वय नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेल र कवि तथा समालोचक डा.अस्मिता विष्टले सहजीकरण गर्नुभएको थियो ।

बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –५ का वडाअध्यक्ष रोहित काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले अमाहा सिमसारको प्राकृतिक सौन्दर्यमा रम्दै रमाउँदै कविता लेखन अभ्यास गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्राध्यापक एवम समालोचक रमेश काफ्लेले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा चेतना अभिवृद्धिका साथै सिर्जनशीलता बढ्ने बताउनुभयो ।  यसैगरी कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै बराहक्षेत्र –५ का वडाअध्यक्ष रोहित काफ्लेले बराहक्षेत्रको चिनारीमा स्लुलमा कविता कार्यक्रमले पनि उल्लेख्य योगदान दिएको बताउनुभयो । 

समाजकी सचिव सबिता फागोले सहजीकरण गरेको कार्यक्रममा समाजकी सह–सचिव शारदा निरौला सारुले स्वागत मन्तव्य राख्नुभएको थियो । कवि प्रकाश दिप्साली राईले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सभाध्यक्ष स्वर्णिम साहित्य समाजका अध्यक्ष शरण लिम्बुले गर्नुभएको थियो ।