इटहरी । बराहक्षेत्र, ६ चक्रघट्टी स्थित ए के मन्टेश्वरी स्कूलले आफ्नो वार्षिक खेलकुद दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । 

जनहित क्लब बराहक्षेत्र ६ को सभा हलमा आयोजित कार्यक्रममा विद्यालयका पीजी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । मन्टेश्वरीकी संस्थापक अनु गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा टेक बहादुर घिमिरे रहनुभएको थियो ।

विशेष अतिथिहरूमा ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्की, बराह सेरोफेरोका सञ्चालक अर्जुन श्रेष्ठ, मदन कुमारी जिमी, सन्धा सापकोटा, अस्मिता वि.क. र सोभना खातुन लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा मन्टेश्वरी संयोजक सावित्रा कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले बालबालिकाको चौतर्फी विकास र वृद्धिका लागि योजनाबद्ध सुधार गरिरहेको बताउनुभयो । प्रमुख अतिथि टेक बहादुर घिमिरेले ए के मन्टेश्वरी स्कूलले एक दशकदेखि प्रारम्भिक बालविकासको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले विद्यालयले गरेको सेवा साना नानीहरूको भविष्य निर्माणका लागि महत्वपूर्ण रहेको बताउनुभयो । सभाध्यक्ष एवं संस्थापक अनु गुरुङले विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर, बाल मनोविज्ञान र शिक्षकहरूको शैक्षिक सीप अभिवृद्धिमा विशेष जोड दिइरहेको जानकारी दिनुभयो । उहाँले बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै प्रत्येक कक्षामा सीसीटीभी जडान गरिएको र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन स्मार्ट टीभीको व्यवस्था गरिएको बताउनुभयो ।

कार्यक्रम संयोजक करुण थुलुङका अनुसार विद्यार्थीहरूले बल रिङ ब्यालेन्स, लेटर बक्स, कप माउन्टेन, १ सय मिटर दौड, मेमोरी गेम लगायत एक दर्जनभन्दा बढी खेलहरूमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै, अभिभावकहरूका लागि म्युजिकल चियर खेल पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप रौनकता ल्याएको थियो।

कार्यक्रममा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। मन्टेश्वरीका  संस्थापक निर्देशक अबियोग राईले कार्यक्रमको सञ्चालन गर्नुभएको  थियो ।