इटहरी । मोरङको सुन्दरहरैंचा–५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने विद्यालयका अध्यक्ष ओम बहादुर राईको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईले शिक्षा समाज परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै पूर्वाञ्चल पब्लिक स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले आधुनिक प्रविधिसँग जोडिएको शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यालयले डिजिटल प्रविधि अपनाएर उदाहरणीय काम गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईले विद्यालयको शैक्षिक प्रगति, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनुभयो । उहाँले विद्यालयले १७ औँ वार्षिकोत्सव मनाइरहँदा कक्षा १ देखि १० सम्मका सबै कक्षामा स्मार्ट कक्षा प्रणाली लागू गरिसकेको जानकारी दिँदै प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीलाई समयअनुकूल शिक्षा प्रदान गर्ने लक्ष्य पूरा गरिएको बताउनुभयो । साथै विद्यालयका सबै कक्षा कोठामा एसी जडान गर्ने कार्य पनि सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका चेयरमेन मोहन प्रसाद ढकालले विद्यालयको यात्रा सहज नभए पनि विभिन्न आरोह–अवरोह पार गर्दै आजको स्थानमा आइपुगेको उल्लेख गर्नुभयो । सो अवसरमा समाजमा योगदान पु¥याएको भन्दै सुकुना क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, राजकुमार तामाङ र केशव कुमार सुनामलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट अभिभावकहरूलाई पनि सम्मान गर्दै विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।