इटहरी । मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिढाली बजारसँग जोड्ने रतुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

मिर्चाडाँगी र पिढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका थिए । वारिपारिका दुई गाउँ जोड्ने झालेङ्गे पुल नहुँदा पुलपारिका बासिन्दा वर्षायाममा भारत हुँदै वडा र नगरपािलका कार्यालय आउने जाने गर्थे । नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले ठेक्का लगाएको ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ को लम्बाइ ७४७ मिटर रहेको छ । थानी निर्माण सेवा प्रालि बत्तिसपुतली काठमाडौँसँग भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६६२ रुपियाँमा पुल निर्माणको सम्झौता २०८२ असार ११ गते भएको हो । २४ महिना अर्थात् २०८४ असार १० गते निर्माण सम्पन्न गर्नुपर्ने पुल १४ महिनाअगावै सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी लोकबहादुर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार वैशाख दोस्रो सातासम्म निर्माण सम्पन्न गरी पुल हस्तान्तरण गरिने छ । नेपाल–भारत सीमासँग जोडिएको मिर्चाडाँगीको पश्चिम र उत्तरतर्फ मात्र नेपाल पर्छ । पुल नहुँदा वर्षायाममा रतुवाखोलामा आउने बाढीका कारण स्थानीयले ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्ने अवस्था थियो । स्थानीयले भन्दा मिर्चाडाँगीका बालबालिकाले झन् ठुलो सास्ती झेल्दै आएका थिए । मिर्चाडाँगीमा कक्षा ३ सम्म मात्र पढाइ हुने भएकाले कक्षा ४ देखि माथिका कक्षा पढ्न रतुवाखोला पश्चिमको पिढाली पुग्नु पर्छ । बाढी आउने दुई महिना बालबालिका विद्यालय जानै नसक्ने अवस्था हुन्छ ।

विद्यार्थीलाई दैनिक डेढ किलोमिटरभन्दा बढी दुरी बगर, धुलो र हिलो पार गर्दै विद्यालय जान समस्या हुने गरेको निशाकुमारी हरिजनले बताउनुभयो । उहाँका अनुसार हुनेखानेका छोराछोरी पिढालीमै बसेर पढ्छन् । गरिबले भने धुलो, हिलो र घामको सास्तीसहँदै विद्यालय धाउनु पर्छ । रतुवाखोला र भारततर्फको सीमाले घेरिएको यो बस्ती वर्षाको समयमा नेपालसँग सम्पर्कविहीन हुने गरेको छ । वर्षायाममा बिरामीलाई उपचार गर्न लान भारतको किसनगन्ज जिल्लाको फूलबारी पुगेर पैकटोल हुँदै फेरि नेपालको डोरियाबाट झुर्किया हुँदै विराटनगर जाने गरिन्छ । साबिक महादेवा गाविस हाल रतुवामाई नगरपालिकाको वडा नं। ३ भएको छ ।

वडाध्यक्ष देवीलाल ताजपुरियाले भन्नुभयो, “मिर्चाडाँगीमा डेढ सय घरधुरी छन् । गणतन्त्रपछिका जनप्रतिनिधिले बिजुलीसम्म पु¥याएका छन् । डेढ सयमध्ये १३ परिवार हरिजन ९दलित० का घर छन् ।” झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि मिर्चाडाँगीका बासिन्दाको दशकौँदेखिको पीडा अन्त्य हुने विश्वास गरिएको छ । स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार र आवतजावतमा सहज हुने छ ।