इटहरी । विराटनगरको कञ्चनबारीस्थित सिटिजन्स बैंकको शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीहरूको मिलेमतोमा रकम हिनामिना भएको आशंकापछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार बैंकबाट उजुरी प्राप्त भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको छ । प्रहरीले अनुसन्धानका लागि आवश्यक कागजात माग गरी छानबिन अघि बढाएको जनाएको छ । घोटालामा संलग्न व्यक्तिहरूको पहिचानबारे भने अहिले औपचारिक रूपमा खुलाइएको छैन ।
बैंक स्रोतका अनुसार घटनामा पाँच जना कर्मचारीको संलग्नता देखिएको छ। कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा घोटाला भएको आन्तरिक लेखापरीक्षणबाट देखिएको स्रोतको दाबी छ । आन्तरिक लेखा परीक्षणमा ठूलो रकम हिनामिना भएको पुष्टि भएपछि बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरिसकेको छ ।
हिनामिना भएको रकम असुलउपर गर्न र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको बैंक स्रोतले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार ती कर्मचारीहरूले फिक्स डिपोजिटमा राखिएको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल तयार गरी रकम निकाल्ने गरेको पाइएको छ ।


