इटहरी । सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इटहरीस्थित ग्रीनपिस एकेडेमीको आयोजनामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चैत ५ र ६ गते सञ्चालन भएको उक्त शिविरबाट कलेजका विद्यार्थी तथा अभिभावक गरी २ हजार ५ सय भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट जनरल फिजिसियन सेवा, आँखा जाँच, स्त्री रोग सेवा, छाला रोग उपचार, दाँत परीक्षण, नाक–कान–घाँटी सेवा तथा बाल रोग विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। यसले स्थानीय बासिन्दालाई एकै स्थानमा बहुआयामिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाएको छ ।

कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुगेको विद्यार्थी बताउछन् । शिविरमा खटिएका विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डाक्टर चन्दन पासवानले विद्यार्थीहरूमा देखिएका रोगको पहिचान गरी सहज रूपमा उपचार गरिएको र जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल जान सल्लाह दिइएको जानकारी दिनुभयो ।

त्यस्तै, कलेजका प्रिन्सिपल रुद्र गौतमले विद्यार्थी तथा अभिभावकसँगै आर्थिक रूपमा कमजोर र ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त स्वास्थ्य शिविर ग्रीनपिस एकेडेमी र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सहकार्यमा सम्पन्न भएको हो ।