इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा ‘स्ववियु कप २०८२’ अन्तर्गत सप्ताहव्यापी खेलकुद समारोह सोमबारदेखि सुरु भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसको खेलमैदानमा आयोजित उद्घाटन कार्यक्रममा स्ववियु अध्यक्ष सहदेव काफ्लेको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम अन्तर्गत क्याम्पसलाई समुदायसँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पसबाट इटहरी चौक, हलगडा हुँदै पुनः क्याम्पससम्म करिब तीन किलोमिटरको ‘जे.एम.सी रन’ पनि आयोजना गरिएको थियो ।

उद्घाटन खेलमा क्याम्पसका प्राध्यापक र स्ववियु प्रतिनिधिहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गरिएको थियो । स्ववियु अध्यक्ष सहदेव काफ्लेले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने तथा खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । त्यसैगरी, क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले जनता बहुमुखी क्याम्पसले न्यून शुल्कमा निजी कलेज सरह गुणस्तरीय शिक्षा र सुविधा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यसका लागि क्याम्पस सञ्चालक समिति निरन्तर सक्रिय रहेको बताउनुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सुनुवारले क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउदै प्रदेश सरकार क्याम्पसको साथमा रहेको पनि स्पष्ट पार्नुभयो ।त्यसैगरी स्ववियु कप २०८२ अन्तर्गत अन्तरकलेजस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुनेछ । साथै भलिबल, डोरी तान, कबड्डी, बुद्धिचाल, छेलो, ज्याभलिन थ्रो, ब्याडमिन्टन तथा सामूहिक नृत्य प्रतियोगिता लगायतका विविध कार्यक्रमहरू आयोजना गरिनेछन् ।

उद्घाटन समारोहमा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी युनियनका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगिताको समापन चैत १५ गते हुने आयोजकले जनाएको छ ।