इटहरी । नेपाल सरकार राष्ट्रिय योजना आयोगको समन्वयमा देशभर सञ्चालन हुन लागेको “आर्थिक गणना २०८३” लाई सफल बनाउन सुनसरीमा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला आर्थिक गणना सुनसरीको आयोजनामा इनरुवामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला समन्वय समिति प्रमुख राजन मेहेता, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला आर्थिक गणना सुनसरीकी प्रमुख उषा रिजालले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया तथा महत्त्वबारे जानकारी दिनुभएको थियो । उहाँका अनुसार अभियान अन्तर्गत औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका सम्पूर्ण आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान तथा व्यवसायहरूको विवरण संकलन गरिनेछ ।

उक्त गणनामा कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, निर्माण, थोक तथा खुद्रा व्यापार, यातायात, होटल तथा रेष्टुरेन्ट, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा सेवा, शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्रहरू समेटिने छ । संकलन कार्य २०८३ बैशाख २ गतेदेखि २०८३ असार ७ गतेसम्म सञ्चालन हुने  छ ।