इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सि को वर्ष २०२६÷२७ का लागि डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि संयुक्त मनोनयन कार्यक्रम इटहरीस्थित लायन्स सामुदायिक भवनमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार लिला प्रसाद चिमरिया, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार रमेश खत्री तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार उदय नारायण बरालको उम्मेदवारी दर्ता भएको छ । कार्यक्रममा सहभागी पूर्व गभर्नरहरूले  तीनै उम्मेदवारलाई १ सय प्रतिशत यस भोटका साथ समर्थन जनाउन सबै लायन्सकर्मीहरूलाई अनुरोध गर्नुृभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ सि का वर्तमान गभर्नर बबरजंग थापाले तीनै जना उम्मेदवारलाई शुभकामना दिँदै नयाँ कार्यसमितिले डिष्ट्रिक्टलाई नयाँ उचाईमा लाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा निवर्तमान गभर्नर विकास अधिकारी,  जि ई टी मल्टिपल डिष्ट्रिक्ट कोअर्डिनेटर ईन्द्र राजन खत्री ,पूर्व  डिस्ट्रिक्ट गर्भनरहरू  धिराज गुरूङ, विजयहरी शर्मा, लीला ढुङ्गेल, क्याबिनेट सेक्रेटरी नेत्र चौलागाईँ, क्याबिनेट अफिसर्स,  लियो तथा लायन्स क्लबका पदाधिकारीहरू साथै सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा लायन्स इन्टरनेशनलको मिसन १.५ अभियान अन्तर्गत सदस्यता विस्तार तथा संस्थालाई अझ सशक्त बनाउने विषयमा समेत चर्चा गरिएको थियो। लायन्स अन्तर्राष्ट्रिय स्तरमा परिचित सामाजिक संस्था हो, जसले नेपालका विभिन्न स्थानमा सामाजिक, शैक्षिक, स्वास्थ्य र मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।