इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १० स्थित भुटानी शरणार्थी क्याम्पमा पछिल्लो समयमा लागू औषध तथा दुव्र्यसनी र चोरीका घटनाहरू बढ्दै गएका छन्।
दिनहुँ जसो चोरी तथा लागू औषध दुव्र्यसनीका घटनाहरू हुने गरेपछि ’सेक्युरिटी थ्रेट’ बढेको स्थानीयले गुनासो गरेका छन्। शरणार्थी जीवन बिताउँदै आएका उनीहरू यतिबेला लागू औषध दुव्र्यसनमा युवा युवतीहरू फस्दै गएको र विगत केही दिन यता देखि रातमा समेत चोरी साथै अश्लिल शब्द बोल्नेहरूको जमातले आतंकित तुल्याएको स्थानीयले बताएका छन् ।
पथरी शनिश्चरे नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको लागि काम गरिरहेका ६ जना मजदुरहरूको नगद रूपैयाँ सहित मोबाइलहरु चोरी भएको छ । सुरक्षा चुनौति थपिएपछि स्थानीयले सशस्त्र क्याम्प पुनःस्थापना गर्नुपर्ने माग राखेका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनको बेला शिविर डाँडामा रहेको सशस्त्र प्रहरी बलको क्याम्पमा आगजनी तथा तोडफोड भएपछि पथरी शनिश्चरेवडा नम्बर ४ मा रहेको शनिश्चरे सशस्त्र प्रहरी बेस क्याम्पमा गाभिएका थिए ।
जनयुद्ध र द्वन्द कालदेखि नै उक्त बेस क्याम्प मार्फत सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आइरहेकामा जेन्जी आन्दोलनले विस्थापित गरेकाले क्याम्प पुनःस्थापनाको लागि नेपाल सरकारसमक्ष आफूहरुको माग रहेको शरणार्थी अगुवा राम बानियाँले बताउनुभयो । सन् १९९२ देखि पूर्वी नेपालको मोरङ्ग पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० को शिविर डाँडामा भुटानी शरणार्थीहरू शरणागत जीवन बिताउँदै आएका छन्।


