इटहरी। ओखलढुङ्गा जिल्लामा मानसिक रोगीको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको हो।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७९र०८० मा २७० जना रहेका मानसिक बिरामी आर्थिक वर्ष ०८०र०८१ मा ५२२ पुगेका थिए भने २०८१र०८२ मा यो संख्या ९६३ पुगेको छ। स्वास्थ्य कार्यालय रुम्जाटारका जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार मानसिक रोगीको संख्या यसरी तीव्र रूपमा बढ्नु गम्भीर चिन्ताको विषय हो। उहाँले समयमै पहिचान, उपचार र समुदायस्तरमा जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो। जिल्लामा मानसिक रोगको वृद्धि सँगसँगै आत्महत्याका घटनामा समेत वृद्धि भएको छ।

आर्थिक वर्ष २०८१र०८२ मा २६ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ३२ जनाले आत्महत्या गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्याका प्रमुख कारणमा मानसिक तनाव, आर्थिक संकट, पारिवारिक बेमेल, वैवाहिक अशान्ति र अनैतिक प्रेम सम्बन्ध रहेका छन्। प्रहरीले आत्महत्या न्यूनीकरणका लागि मानसिक बिरामीलाई समयमै उपचार, परामर्श सेवा उपलब्ध गराउने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्य कार्यालयले समेत मानसिक स्वास्थ्य सेवा विस्तार, परामर्श सेवा सुदृढीकरण र समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम अघि बढाएको जनाएको छ। स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ, मानसिक समस्या देखिएमा लुकाएर राख्नु भन्दा खुला रूपमा उपचार तथा परामर्श लिनुहोस्।