इटहरी । सरकारले प्राथमिकतामा राखेको पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको विकास र प्रवद्र्धनका लागि भोजपुरमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन तथा पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रममा नेपालका सातै प्रदेशसँगै भारत, भुटान, जापान, कोरिया, नेदरल्याण्ड र अमेरिका लगायत करिब एक दर्जन देशका स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ । संस्कृतिविद् भक्त राईका अनुसार मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित सम्मेलन र पदयात्राको तयारी गरिएको जानकारी दिनुभयो ।
शनिबार टेम्केमैयुङ गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिइएको थियो। यसले मुन्दुम पदमार्गसँगै चखेवा भञ्ज्याङ, टेम्क, मैयुङ लगायत क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । पर्यटकीय स्थल चखेवामा भने यही चैत्र ३० गतेदेखि नयाँ वर्ष २०८३ सालको बैशाख २ गतेसम्म खाना महोत्सव साथै सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।
खोटाङको तावाभञ्ज्याङ बाट सुरु हुने यो पदमार्ग भोजपुरका विभिन्न पर्यटकीय स्थल हुँदै करिब १५३ किलोमिटर लम्बाइमा फैलिएको छ । साल्पापोखरी, मैयुङ, एकराते र बाघखोर हुँदै भोजपुर टक्सार विमानस्थल सम्म पुग्ने यस मार्गको यात्रा नेपालीका लागि ५ देखि ९ दिन तथा विदेशी पर्यटकका लागि १० देखि १५ दिनसम्म लाग्ने बताइएको छ ।
पदमार्गको विकासका लागि हेल्भेटास नेपालको प्राविधिक सहयोगमा टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी), नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीच सहकार्य भइरहेको छ ।


