इटहरी । विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले पत्रकारले सधैं सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विराटनगरमा सम्पन्न तीन दिवसीय युवाहरुको लागि आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले तालिमबाट धेरै ज्ञान हासिल गर्न सकिने उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्र त्यसको सार्थकता हुने बताउनुभयो ।
उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैं सहयोग गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो । उप–प्रमुख कार्कीले पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा उल्लेख गरेको स्मरण गर्दै यसले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
युवाहरूलाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम अभिनव मिडिया प्रा.लि.को आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । तालिममा प्रशिक्षकहरू सीमा बस्नेत, सुमन सुस्केरा, भरत खड्का र राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी डेविड केसीले समाचार लेखन शैली, पत्रकार आचारसंहिता तथा सूचनाको हक प्रयोग गर्ने तरिकाबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो ।
साथै, समाचारलाई कसरी प्रभावकारी र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा पनि आफूले सिकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले सिकेका कुरालाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का सहभागी सम्झना कार्कीले तालिममा प्राप्त ज्ञानलाई कार्यक्षेत्रमा प्रयोग गर्ने बताउनुभयो । अभिनव मिडिया प्रा.लि.की अध्यक्ष धनकुमारी थापाको अध्यक्षता तथा उप–प्रमुख कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाकी सञ्चार शाखा प्रमुख कमला निरौला लगायतको उपस्थिति रहेको थियो ।


