इटहरी । धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ मा रहेको सिंहदेवी मन्दिरलाई नयाँ रुप दिइएको छ ।

गुमनाम अवस्थामा सिधुवा बजार नजिकै कोशी राजमार्गसँगै रहेको यो मन्दिरलाई स्थानीय युवाहरूको सक्रियतामा नयाँ रुप दिन लागिएको हो।  करिब दुई रोपनी क्षेत्रफलमा छरपस्ट रूपमा रहेका ढुङ्गाहरूमा विभिन्न आकृति दिएको हो। शिव भगवान्, बुद्ध भगवान्, जरायो, ओमकार, आदिको आकृति कोरिएको छ ।

त्यस्तै पार्वती सहित विभिन्न हिमाल लगायतको कलाकृति कोर्ने काम गरिएको निर्माण समितिका अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो। तिहारमा देउसीभैलो खेली सङ्कलन गरेको रकम, छथरजोरपाटी गाउँपालिका वडा नं. ६ वडा कार्यालय सहित स्थानीय तथा विभिन्न स्थानमा बसोबास गर्नुहुने ब्यक्तिको सहयोगमा निर्माण गर्न लागिएको हो। हालसम्म दुई लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको थापाको भनाई छ ।

नयाँ वर्ष भन्दा अघि नै निर्माण सम्पन्न गरी सक्ने सो मन्दिरको सम्पूर्ण काम सक्दा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो कार्यले मन्दिरको प्रचारप्रसार सँगै धार्मिक पर्यटकलाई आकर्षित गर्ने वडाध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो। पहिले देखि नै मन्दिर रहेको सो स्थानमा कसैको ध्यान नपुग्दा मन्दिर ओझेलमा रहेको थियो ।