इटहरी । कोशी प्रदेश सरकारका बन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीलाई टेम्केमैयुङ गाउँपालिकाको तर्फबाट मुन्दुम पदमार्ग सहित विभिन्न विकास सम्बन्धी मागहरू प्रस्तुत गरिएको छ ।
भोजपुरमा आयोजना गरिएको प्रथम अल्ट्रा ट्रेल रेसको समापन कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री पराजुलीलाई आइतबार गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले आधिकारिक रूपमा मागपत्र हस्तान्तरण गर्नुभएको हो।
सो अवसरमा मुन्दुम पदमार्ग अन्तर्गत टेम्के क्षेत्रमा रहेको जीर्ण अवस्थामा पुगेको बेस क्याम्पको समेत मन्त्री पराजुलीलाई अवलोकन गराइएको थियो। उक्त बेस क्याम्पको पुनर्निर्माण तथा मर्मतका लागि करिब एक करोड रुपैयाँ बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो। टेम्के क्षेत्र मुन्दुम पदमार्गसँग जोडिएको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको चखेवा भञ्ज्याङबाट करिब ८ किलोमिटर दूरीमा रहेको टेम्केडाँडा नजिकै उक्त बेस क्याम्प रहेको छ, जुन हाल पुनःनिर्माणको प्रतीक्षामा रहेको स्थानीयले बताएका छन्। मुन्दुम क्षेत्रको समग्र विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारको सहयोग आवश्यक रहेको विषयलाई समेटेर मागपत्र पेश गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो।


